भिजिट भिसा प्रकरणमा रास्वपाले बनाएको छानबिन समितिले बुझायाे प्रतिवदेन


काठमाडौं । भिजिट भिसा प्रकरणमा गठित छानबिन समितिले आफ्नो प्रतिवेदन पार्टी नेतृत्वलाई बुझाएको छ। समितिकी संयोजक डा चन्दा कार्कीले बुधवार कार्यवाहक सभापति डोलप्रसाद अर्याललाई उक्त प्रतिवेदन बुझाएकी हुन् ।
मानव तस्करीमा भिजिट भिसाको दुरुपयोग भएको भन्दै गृहमन्त्री रमेश लेखकविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले संसद अवरुद्ध गर्दै आएको छ। यद्यपि, सोही विषयमा रास्वपाका कार्यवाहक सभापति अर्याल नै संलग्न भएको आरोप कांग्रेस सांसद रामहरि खतिवडाले सार्वजनिक गरेपछि रास्वपाले छानबिन समिति गठन गरेको थियो।
प्रतिवेदन बुझाउँदै संयोजक कार्कीले समितिले प्राप्त कार्यादेशअनुसार निष्पक्ष, जिम्मेवार र वस्तुनिष्ठ ढंगले छानबिन कार्य सम्पन्न गरेको बताइन्। उनले भिजिट भिसाको आवरणमा भइरहेको मानव तस्करीविरुद्ध पार्टी दृढतापूर्वक लडिरहेकै बेला उल्टै पार्टीको छवि र विश्वसनीयता प्रश्नमा पार्ने प्रयास भएकाले सत्य तथ्य सार्वजनिक गर्न समिति गठन गरिएको स्पष्ट पारिन्।
समितिको प्रारम्भिक बैठक २०८२ असार ३ गते बसेको थियो। उक्त बैठकबाट कार्यविधि निर्माण, कार्यसम्पादनको ढाँचा र आवश्यक सहयोगी संरचनाको निर्धारण गरिएको थियो। त्यसपछिका बैठकहरूमा कार्यवाहक सभापति, महामन्त्रीलगायत समितिका सदस्यहरूको सुझावसहित आवश्यक परामर्श लिइएको कार्कीले बताइन्।
समितिले ७ वटा औपचारिक र ८ वटा अनौपचारिक गरी कुल १५ बैठकमार्फत प्रतिवेदन तयार पारेको छ। प्रतिवेदन समितिका सबै सदस्यहरूको सर्वसम्मत निर्णयमा आधारित रहेको बताइएको छ।