भोली लुम्बिनी र पूर्वी प्रदेशमा तीव्र हावाहुरीको चेतावनी, विभागद्वारा सतर्कता अपनाउन अनुरोध
Prime TV News एक महिना अगाडि 
काठमाडौ । जल तथा मौसम विज्ञान विभागले आगामी दुई दिन देशका केही क्षेत्रमा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको चेतावनी दिएको छ। विभागले सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
विभागका अनुसार भोलि लुम्बिनी प्रदेशका दाङ, नेपालगञ्जसहित तराई आसपासका जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना छ। त्यसपछि पर्सि पूर्वी क्षेत्रका विराटनगर, धनकुटा र धरान आसपासका जिल्लामा पनि हावाहुरीको जोखिम रहने अनुमान गरिएको छ।
हावाहुरीको गति झण्डै ३३ मिटर प्रति सेकेण्ड अर्थात करिब ११९ किलोमिटर प्रतिघण्टा पुग्न सक्ने विभागले जनाएको छ। यसले रुख ढल्ने, छाना उड्ने, कमजोर संरचना नष्ट हुने र विद्युत तथा सञ्चार सेवामा असर पर्ने जोखिम रहेको छ।
विभागले घरबाहिरको गतिविधि कम गर्न, सुरक्षित स्थानमा बस्न, र कमजोर संरचना नजिक नजान सर्वसाधारणलाई आग्रह गरेको छ। साथै, विद्युत र सञ्चार अवरोधको सम्भावनाका लागि आपतकालीन सम्पर्क नम्बरहरू तयार राख्न पनि सिफारिस गरिएको छ। सुरक्षा र सतर्कतापूर्ण व्यवहार अपनाएर हावाहुरीको जोखिम न्यून गर्न विभागले सबैलाई सचेत रहन निर्देशन दिएको छ।







