हावाहुरी र वर्षाको जोखिम बढ्यो, कर्णाली–सुदूरपश्चिममा भारी वर्षा र हिमपातको चेतावनी

User Image Prime TV News एक महिना अगाडि
Image of हावाहुरी र वर्षाको जोखिम बढ्यो, कर्णाली–सुदूरपश्चिममा भारी वर्षा र हिमपातको चेतावनी

काठमाडौ । देशभर आज मौसम प्रतिकूल हुने देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु सक्रिय हुँदा हावाहुरीसहित वर्षा हुने सम्भावना बढेको हो।

दिउँसो अधिकांश स्थानमा बादल लाग्ने र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा वर्षा हुने अनुमान गरिएको छ। गण्डकी, लुम्बिनी र कोसी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा पनि मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। उच्च भूभागमा हिमपातको सम्भावना समेत रहेको विभागले जनाएको छ।

विशेषगरी कर्णाली र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षा र हिमपात हुन सक्ने चेतावनी दिइएको छ। रातिको समयमा पनि मौसम पूर्ण रूपमा सुधार नहुने र धेरै स्थानमा वर्षा जारी रहने पूर्वानुमान छ।

यसैबीच, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तीव्र हावाहुरीको जोखिम औंल्याउँदै सावधानी अपनाउन आग्रह गरेको छ। प्राधिकरणका अनुसार दाङ, नेपालगन्ज आसपास तथा भोलि पूर्वी क्षेत्रका विराटनगर, धनकुटा र धरान क्षेत्रमा करिब ११९ किलोमिटर प्रतिघण्टासम्मको वेगमा हावाहुरी चल्न सक्छ।

प्रि–मनसुनको समयमा यस्ता गतिविधिले ठूलो क्षति पुर्‍याउने भएकाले सतर्कता अत्यावश्यक रहेको जनाइएको छ। रुख ढल्ने, कमजोर संरचना भत्किने, छाना उड्ने र विद्युत् सेवा अवरुद्ध हुने जोखिम उच्च रहेको छ।

प्राधिकरणले अनावश्यक यात्रा नगर्न, हावाहुरीका बेला सुरक्षित स्थानमा बस्न, झ्यालढोका मजबुत रूपमा बन्द गर्न र बिजुलीका तार तथा अग्ला रुखबाट टाढा रहन आग्रह गरेको छ।