लुम्बिनीमा अन्तर्राष्ट्रिय ध्यान कार्यक्रम, बुद्ध शिक्षामार्फत शान्तिको सन्देश

User Image Prime TV News एक महिना अगाडि
Image of लुम्बिनीमा अन्तर्राष्ट्रिय ध्यान कार्यक्रम, बुद्ध शिक्षामार्फत शान्तिको सन्देश

लुम्बिनी । लुम्बिनीमा आयोजित अन्तर्राष्ट्रिय बौद्ध ध्यान कार्यक्रममा विश्व शान्ति र सहअस्तित्वको सन्देश प्रवाह गरिएको छ। चिनियाँ दुतावासको आयोजनामा शुक्रबार सम्पन्न कार्यक्रममा उच्चस्तरीय नेपाली तथा चिनियाँ प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिल कुमार सिन्हाले वर्तमान विश्वमा बढ्दो द्वन्द्व, असहिष्णुता र विभाजनका चुनौतीबीच गौतम बुद्धका शिक्षाहरू अझ सान्दर्भिक बन्दै गएको बताए। उनले बुद्धका उपदेशले मानवतालाई करुणा, सहिष्णुता र पारस्परिक समझदारीतर्फ डो¥याउने उल्लेख गरे।

मन्त्री सिन्हाले लुम्बिनीलाई केवल ऐतिहासिक स्थल नभई विश्व शान्तिको प्रतीकका रूपमा विकास गर्नुपर्नेमा जोड दिए। “लुम्बिनी मानवताको साझा धरोहर हो,” उनले भने, “यसले विश्वलाई शान्तिको मार्ग देखाउन सक्छ।”

कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले नेपाल–चीनबीचको सांस्कृतिक सम्बन्ध ऐतिहासिक रूपमा गहिरो रहेको बताए। उनले बौद्ध दर्शनमा आधारित करुणा र सहअस्तित्वको मूल्यले विश्वका वर्तमान चुनौती समाधान गर्न सहयोग पुग्ने धारणा राखे।