विशेष महाधिवेशनले कांग्रेसलाई बलियो बनायो : अर्जुननरसिंह केसी
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसका वरिष्ठ नेता अर्जुननरसिंह केसीले विशेष महाधिवेशनकै कारण पार्टी अहिलेको अवस्थासम्म आइपुगेको बताएका छन्।
शुक्रबार केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले विशेष महाधिवेशन नगरी सिधै चुनावमा गएको भए कांग्रेसको अवस्था अझ कमजोर हुने दाबी गरे। उनका अनुसार महाधिवेशनले पार्टीभित्र नयाँ ऊर्जा, नेतृत्व र नीतिगत स्पष्टता ल्याएको थियो।
केसीले परिवर्तित राजनीतिक परिवेश र नयाँ पुस्ताको अपेक्षालाई सम्बोधन गर्ने अवसर विशेष महाधिवेशनले दिएको उल्लेख गरे। “यदि त्यस्तो तयारीबिना चुनावमा गएका हुन्थ्यौँ भने परिणाम अहिलेको भन्दा झनै कमजोर आउँथ्यो,” उनले भने।
उनले महाधिवेशनपछि कार्यकर्तामा उत्साह बढेको र त्यसले चुनावी परिणाममा सकारात्मक प्रभाव पारेको छ। त्यसैले कांग्रेस दोस्रो शक्ति बन्न सफल भएको उनको दाबी छ। पार्टीभित्रको एकता आवश्यक रहेको उल्लेख गर्दै उनले आन्तरिक विवादभन्दा सहकार्यमा जोड दिनुपर्ने बताए। कसैलाई दोषारोपण गर्नेभन्दा सबै मिलेर अघि बढ्नु नै अहिलेको आवश्यकता भएको उनले स्पष्ट पारे।







