बागलुङ–बलेवा–कुश्मिसेरा सडक तीन महिनापछि सञ्चालनमा

User Image Prime TV News १ हप्ता अगाडि
Image of बागलुङ–बलेवा–कुश्मिसेरा सडक तीन महिनापछि सञ्चालनमा

बागलुङ(रासस) । पहिरोले अवरुद्ध बनेको बागलुङ–बलेवा–कुश्मिसेरा सडक तीन महिनापछि सञ्चालनमा आएको छ। वर्षाका कारण सडक भाँसिएपछि अवरुद्ध बनेको उक्त सडक सञ्चालनमा आएको हो।  बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो जाँदा करिब एक सय मिटर सडक भाँसिएको थियो। गत असारदेखि बन्द भएको सडक खुलाउनका लागि डोजरसहितका उपकरण प्रयोग गरिएको थियो।

सडक अवरुद्ध हुँदा बागलुङ नगरपालिका–१० गलुवा, भकुण्डे, वडा नं १३ पैयुँपाटा, वडा नं १२ को अमलाचौरसहित दक्षिण बागलुङका हजारौँ नागरिकले सास्ती खेप्नुपरेको थियो। बलेवा क्षेत्रबाट २० मिनेटमा सदरमुकाम बागलुङ बजार पुग्न सकिनेमा पहिरोका कारण दुई घण्टाको घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता थियो। 

पूर्वाधार विकास कार्यालय बागलुङले गत साता पहिरोको अवस्था बुझेर तत्काल सञ्चालनमा ल्याउन गण्डकी प्रदेशअन्तर्गतको भौतिक पूर्वाधार विकास मन्त्रालयमा लागत अनुमानसहित स्वीकृतिका लागि पठाएको थियो। 

मन्त्रालयबाट स्वीकृत हुन बाँकी रहेको पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी एवं इञ्जिनियर अनिल बर्देवाले जानकारी दिए। बडादसैँ नजिकिएपछि नागरिकको आवतजावत बढ्ने हुँदा सडक खुलाइएको उनको भनाइ छ। 

सूचना अधिकारी बर्देवाले भने, "लामो समयसम्म सडक बन्द हुँदा हजारौँ नागरिकको सास्ती खेप्नुपर्‍यो। निरन्तर वर्षा र पहिरो झरिरहँदा सडक खुलाउन समस्या भइरहेको थियो, अहिले वर्षा केही कम भएपछि दुई दिनसम्म जनशक्तिसहित विभिन्न उपकरण प्रयोग गरी पहिरो पन्छाएका हौँ। खर्च व्यवस्थापनका लागि पूर्वाधार विकास मन्त्रालयमा लागत अनुमान स्वीकृतिका लागि पठाएका छौँ, अझै स्वीकृत भएको छैन।"

विगत तीन वर्षदेखि यस क्षेत्रमा पहिरो जाँदा पहिरो पन्छाउन एक करोड रुपैयाँभन्दा बढी खर्च भइसकेको बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले जानकारी दिए। अघिल्लो वर्ष मात्र पूर्वाधार विकास कार्यालय र नगरपालिकाले करिब ५० लाख खर्च गरेर पहिरोमाथिको पानीलाई नजिकैको न्वारे खोलामा व्यवस्थापन गरी सडकको माथिल्लो भागमा जाली लगाउने काम गरेको उनले बताए।