बाढी र पहिरोका कारण नेपालका प्रमुख पाँच राजमार्ग अवरुद्ध

User Image Prime TV News ११ महिना अगाडि
Image of बाढी र पहिरोका कारण नेपालका प्रमुख पाँच राजमार्ग अवरुद्ध

काठमाडौ । देशका विभिन्न भागमा आएको वर्षा र त्यसपछि आएको बाढी र पहिरोका कारण नेपालका प्रमुख पाँच राजमार्ग अवरुद्ध भएका छन्। प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार, सङ्खुवासभाका विभिन्न स्थानहरूमा आएको पहिरोका कारण कोशी राजमार्ग पूर्ण रूपमा बन्द भएको छ।

सङ्खुवासभा जिल्लाको मकालु गाउँपालिका–३ स्थित एकुवा र भोटखोला गाउँपालिका–४ स्थित वरुण क्षेत्रमा पनि पहिरोका कारण कोशी राजमार्ग अवरुद्ध भएको छ। यस्तै, रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ मा रहेको पासाङल्हामु राजमार्ग र नेपाल-चीन जोड्ने मितेरी पुलसमेत बन्द भएका छन्।

चितवनको इच्छाकामना गाउँपालिका–५ मा मुग्लिङ-नारायणघाट सडकखण्ड र रुकुम पूर्वको भूमे गाउँपालिका–४ स्थित मध्यपहाडी लोकमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएका छन्। तर, नवलपरासी पूर्वस्थित पूव-पश्चिम राजमार्ग, बाग्लुङको कालिगण्डकी करिडोर र रसुवास्थित त्रिशुली-मैलुङ सडक एकतर्फी रूपमा सञ्चालनमा रहेका छन्।

प्रहरी अधिकारीहरूले प्रभावित क्षेत्रहरूमा उद्धार कार्यलाई प्राथमिकता दिइरहेका छन् ।