नेविसंघको महाधिवेशन वैशाखमा: तदर्थ अवस्थाको अन्त्य गर्ने तयारी

User Image Prime TV News एक महिना अगाडि
Image of नेविसंघको महाधिवेशन वैशाखमा: तदर्थ अवस्थाको अन्त्य गर्ने तयारी

काठमाडौ । लामो समयदेखि तदर्थ अवस्थाबाट गुज्रिरहेको नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आफ्नो १२औँ महाधिवेशन आगामी वैशाख २० र २१ गते गर्ने निर्णय गरेको छ।

नेविसंघका सभापति दुजाङ शेर्पाले महाधिवेशन ढिलाइ हुनुमा पार्टी नेतृत्वबाट समयमै विधान नआउनु मुख्य कारण रहेको बताएका छन्। उनका अनुसार वर्तमान समितिले विधान परिमार्जन गरी पार्टीलाई बुझाएको झन्डै एक वर्ष बितिसक्दा पनि सो विधान फिर्ता नआएको हो।

उनले समयमै विधान प्राप्त भएको भए गत वर्षकै सेप्टेम्बरभित्र महाधिवेशन सम्पन्न हुने बताएका छन्। शेर्पाले कार्यकालका क्रममा पाँच पटकसम्म राजीनामा दिएको तर पार्टी नेतृत्वले अधिवेशन गराएर मात्र जिम्मेवारी छोड्न आग्रह गरेपछि आफूले काम जारी राखेको जानकारी दिए।

सभापति शेर्पाले महाधिवेशनलाई कम खर्चिलो तर व्यवस्थित बनाउने योजना रहेको उल्लेख गरे। उनका अनुसार विश्वभर रहेका पूर्व नेविसंघ सदस्यहरूबाट पारदर्शी ढंगले कोष संकलन गरिनेछ र पार्टीबाट आर्थिक सहयोग नलिइनेछ।

उनले अब विद्यार्थीहरूले आफ्ना नेता र नीति आफैं चयन गर्ने अवस्था सिर्जना हुने दाबी गर्दै विद्यार्थी राजनीतिमा आत्मनिर्भरता र जिम्मेवारीको नयाँ चरण सुरु हुने बताए। साथै, विद्यार्थी नेताहरूले नेताहरूको झोला बोक्ने परम्परा अन्त्य हुने उनको भनाइ छ।