युद्धको असरले सुनचाँदीको भाउ ओरालो, तीन दिनमै ठूलो गिरावट
Prime TV News एक महिना अगाडि 
काठमाडौ । पश्चिम एसियामा जारी युद्धको प्रभाव नेपाली बजारमा पनि देखिन थालेको छ । जसका कारण सुनचाँदीको मूल्य लगातार घटिरहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला २ लाख ७५ हजार ५०० रुपैयाँमा झरेको छ। यो मूल्य आइतबारको तुलनामा ६ हजार ५०० रुपैयाँले कम हो। महासंघका अनुसार प्रति १० ग्राम सुनको मूल्य पनि घटेर २ लाख ३६ हजार १९५ रुपैयाँ कायम भएको छ। आइतबार भने छापावाल सुन प्रतितोला २ लाख ८२ हजार तथा प्रति १० ग्राम २ लाख ४१ हजार ७७० रुपैयाँ थियो।
यसअघि शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ५०० रुपैयाँ पुगेको थियो। तीन दिनकै अवधिमा सुनको मूल्यमा करिब १९ हजार रुपैयाँको गिरावट आएको देखिएको छ, जसले बजारमा चासो बढाएको छ। यस्तै, चाँदीको मूल्यमा पनि कमी आएको छ। आइतबार प्रतितोला ४ हजार ५४० रुपैयाँ रहेको चाँदी सोमबार घटेर ४ हजार ४२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
व्यापारीहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा देखिएको अस्थिरता र युद्धजन्य परिस्थितिले सुनचाँदीको मूल्यमा प्रत्यक्ष प्रभाव पारेको छ। बजार अझै केही समय उतारचढावमै रहने अनुमान गरिएको छ।







