'कुलिङ अफ पिरियड' बारे समितिमा छलफल सुरु


काठमाडौं । संघीय निजामती सेवा विधेयकबाट कुलिङ अफ पिरियड सम्बन्धी व्यवस्था हराएपछि उत्पन्न विवादको सन्दर्भमा राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा बुधबारदेखि दफावार छलफल सुरु भएको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेको उपस्थितिमा सुरु भएको छलफलमा विधेयकलाई अन्तिम रूप दिने प्रक्रिया अघि बढाइएको हो। समितिकी सभापति तुलसाकुमारी दाहालका अनुसार सैद्धान्तिक छलफल पूरा भइसकेकाले अब दफावार छलफलमार्फत विधेयक टुंग्याउने तयारी भइरहेको छ।
समिति सदस्य सुरेश आले मगरले आगामी भदौ १७ गतेभित्र विधेयक टुंग्याउने लक्ष्य राखिएको जानकारी दिएका छन्। प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा सन्देशसहित आएको विधेयकलाई राष्ट्रिय सभाले दुई महिनाभित्र पुनः सन्देशसहित प्रतिनिधि सभामा पठाउनु पर्ने संवैधानिक व्यवस्था छ।
कुलिङ अफ पिरियडको विषयमा दलहरूबीच मतभेद
विधेयकमा कुलिङ अफ पिरियडको व्यवस्था समावेश गर्नुपर्ने विषयमा राजनीतिक दलहरूबीच मतभेद देखिएको छ। नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसदहरू सो व्यवस्था समेटिनुपर्ने पक्षमा छन्। सत्तारूढ नेकपा एमालेका सांसदहरूले भने उक्त व्यवस्था आवश्यक नरहेको भन्दै संशोधन प्रस्ताव दर्ता गराएका छन्। उपेन्द्र यादव नेतृत्वकाे सरकारले समर्थन फिर्ता लिएसंगै राष्ट्रिय सभामा अहिले सरकार अल्पमतमा छ ।
छानबिन समितिको प्रतिवेदन र राजीनामा
प्रतिनिधि सभाबाट विधेयक पारित हुँदा कुलिङ अफ पिरियड सम्बन्धी प्रावधान हटेको विषयमा विवाद चुलिएपछि संसदीय विशेष छानबिन समिति गठन गरिएको थियो ।
समितिले आफ्नो प्रतिवेदनमार्फत सो प्रावधान हट्नुमा सभापतिले नैतिक जिम्मेवारी लिनुपर्ने निष्कर्ष निकालेको थियो । त्यसपछि राज्य व्यवस्था समितिका तत्कालीन सभापति रामहरि खतिवडाले राजीनामा दिएका थिए । राष्ट्रिय सभाको समितिले छानबिन समितिको प्रतिवेदन र राज्य व्यवस्था समितिबाट प्राप्त पत्रलाई छलफलको हिस्सा बनाएको जनाएको छ।