मन्त्री सिन्हाले मौसमविदालाई ‘पर्दा पछाडिका हिरो’ भने, चुनाव सफलतामा योगदानको प्रशंसा

User Image Prime TV News एक महिना अगाडि
Image of मन्त्री सिन्हाले मौसमविदालाई ‘पर्दा पछाडिका हिरो’ भने, चुनाव सफलतामा योगदानको प्रशंसा

काठमाडौ । अनिल कुमार सिन्हा ले मौसमविदाहरूलाई सरकारले सफल चुनाव सञ्चालन गर्न सहयोग पुर्‍याएको भन्दै “पर्दा पछाडिका हिरो” भनेका छन्।

विश्व मौसम दिवसको अवसरमा जल तथा मौसम विज्ञान विभाग द्वारा आयोजना गरिएको कार्यक्रममा उनले मौसमविदाहरूको योगदानको प्रशंसा गरेका हुन्। मन्त्री सिन्हाका अनुसार फागुन २१ को निर्वाचनअघि हिमाली क्षेत्रमा हिउँ पर्ने डर थियो, तर मौसमविदाहरूले सही पूर्वानुमान दिएका कारण देशभर एकैचरणमा चुनाव सम्पन्न गर्न सम्भव भएको हो।

उनले भने, “तपाईंहरू पर्दा पछाडिमा रहेर सरकारलाई सहयोग गर्ने पर्दा पछाडिका हिरोहरू हुनुहुन्छ। म यहाँहरूप्रति आभार व्यक्त गर्न चाहन्छु।” स्रोतको कमी हुँदाहुँदै पनि मौसमसम्बन्धी अध्ययन र जानकारी उपलब्ध गराएकोमा उनले मौसमविदाहरूको सराहना गरे।

उनले मौसम सेवाहरूलाई आम नागरिकसम्म प्रभावकारी तरिकाले पुर्‍याउन सरकार प्रतिबद्ध रहेको र सूचना स्थानीय भाषामा पनि उपलब्ध गराउनुपर्नेमा जोड दिए। त्यसैगरी, उनले जल तथा मौसम विज्ञान विभागका कानुनी अप्ठ्यारा समाधान गर्न आफू सधैं तयार रहेको बताए।