प्रचण्डको प्रतिवेदनमा श्रेष्ठ र शर्माको असहमती

User Image Prime TV News १ हप्ता अगाडि
Image of प्रचण्डको प्रतिवेदनमा श्रेष्ठ र शर्माको असहमती

काठमाडौ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्वारा प्रस्तुत प्रस्तावमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माले असहमतिका कुरा राखेका छन्। अध्यक्ष प्रचण्डले आगामी मंसिरमा विशेष महाधिवेशन आयोजना गर्ने प्रस्ताव गरेका थिए, जसमा पदाधिकारी र केन्द्रीय समिति भंग गर्ने कुरा पनि प्रस्तुत गरिएको थियो।

यस प्रस्तावसँग असहमत हुँदै उपमहासचिव जनार्दन शर्माले नयाँ प्रस्ताव राखेका छन्। उनले सबै पदाधिकारीहरूलाई राजीनामा दिन र त्यसपछि निर्देशक समितिमा बसेर नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण गर्नुपर्ने सुझाव दिएका छन्।

त्यसैगरी, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले प्रचण्डको मंसिरमा महाधिवेशन गर्ने प्रस्तावलाई असम्भव भनेका छन्। उनका अनुसार मंसिरमा महाधिवेशन आयोजना गर्न सक्ने अवस्था छैन, र त्यसको लागि निर्वाचनपछि महाधिवेशन गर्नुपर्ने आवश्यकता रहेको छ।

श्रेष्ठको प्रस्तावअनुसार, महाधिवेशन चुनावपछि सम्पन्न गरिनु पर्छ र पार्टीको नेतृत्वमा परिवर्तनको आवश्यकता छ। उनले प्रचण्डलाई तत्काल राजीनामा दिन र नेतृत्व हस्तान्तरण गर्न आग्रह गरेका छन्।

यसअघि, माओवादीको पदाधिकारी बैठकमा पनि वरिष्ठ उपाध्यक्ष श्रेष्ठले कार्यवाहक अध्यक्षको माग गरेका थिए। उपमहासचिव शर्माले पनि यसै कुरा पुष्टि गर्दै, महाधिवेशनसम्म कार्यवाहक अध्यक्षको रूपमा वरिष्ठ उपाध्यक्ष श्रेष्ठलाई नेतृत्व दिने पक्षमा रहेको बताएका छन्। 

उपमहासचिव शर्माले पार्टीको महाधिवेशनमा कार्यकर्ताहरूलाई स्वतन्त्र रूपमा आफ्नो नेता छान्ने अवसर दिनुपर्ने र नयाँ विचारहरूको आदानप्रदानको वातावरण बनाउन आवश्यक रहेको बताएका छन्।