बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ खिच्दै नेपाल राष्ट्र बैंक

User Image Prime TV News एक महिना अगाडि
Image of बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ खिच्दै नेपाल राष्ट्र बैंक

काठमाडौ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि फेरि पैसा खिच्ने भएको छ। केन्द्रीय बैंकले चैत ८ गते ४० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने जनाएको छ।

यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुनेछ। बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि आवेदन दिन सक्नेछन्। आवेदन ५ करोड रुपैयाँका गुणकमा दिनुपर्ने व्यवस्था छ। निक्षेप संकलन २१ दिनका लागि हुनेछ। सो रकम वैशाख २ गते साँवा र ब्याजसहित फिर्ता गरिनेछ। यस प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्।

पछिल्लो समय कर्जाको माग नबढ्दा बैंकिङ प्रणालीमा तरलता धेरै भएको छ। यसले गर्दा बैंकहरू कम ब्याजदरमा पनि पैसा राख्न बाध्य भएका छन्। केन्द्रीय बैंकले यस्तो उपकरण प्रयोग गरेर बजारमा भएको अतिरिक्त पैसा व्यवस्थापन गर्न खोजेको हो।