पेट्रोलियम मूल्य वृद्धिपछि सार्वजनिक यातायात भाडा बढ्ने तयारी
Prime TV News एक महिना अगाडि 
काठमाडौ । यातायात व्यवस्था विभागले पेट्रोलियम पदार्थको मूल्य बढेको आधारमा सार्वजनिक यातायातको भाडा बढाउन सरकारलाई सिफारिस गरेको छ। विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्र पठाउँदै वैज्ञानिक भाडा समायोजन प्रणालीअनुसार भाडा बढाउने प्रस्ताव राखेको हो।
नेपाल आयल निगमले गत चैत २ गते डिजेलमा प्रतिलिटर १० र पेट्रोलमा १५ रुपैयाँ मूल्य वृद्धि गरेपछि विभागले नयाँ भाडादरको प्रस्ताव तयार पारेको छ। यसका लागि विभागले २०६५ सालदेखि लागू १३ वटा सूचकसहितको ‘वैज्ञानिक भाडा समायोजन विधि’लाई आधार बनाएको जनाएको छ।
सिफारिसअनुसार सार्वजनिक यात्रुवाहक सवारी साधन: ११.३३ प्रतिशत, पहाडी बाटोमा चल्ने मालवाहक सवारी: १४.२९ प्रतिशत, तराईमा चल्ने मालवाहक सवारी: ८.८१ प्रतिशत को दरले भाडा वृद्धिको प्रस्ताव गरिएको छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अनुसार विभागले चैत ५ गते मन्त्रालयमा भाडा समायोजन फाइल पेश गरिसकेको छ। व्यवसायीहरूले २०७२ सालदेखि पूर्ण रूपमा भाडा समायोजन नभएकाले तत्काल कार्यान्वयन गर्न माग गरेका छन्।







