६ प्रदेशका ४२ जिल्लामा लम्पी स्किन रोग फैलिँदा १८ सय भन्दा वढी पशुको मृत्यु


काठमाडाै । देशका ६ प्रदेशका ४२ जिल्लामा गाईभैंसीमा लाग्ने लम्पी स्किन रोग फैलिएको छ। पशु सेवा विभागका अनुसार, हालसम्म ४५ हजार १५९ पशु यो रोगबाट संक्रमित भएका छन् भने १८ सय ८४ पशुको मृत्यु भएको छ।
विभागले दिएको जानकारी अनुसार, हाल देशभर ५ हजार ४४० पशु सक्रिय रूपमा संक्रमित छन्। लम्पी स्किन रोग कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा फैलिएको छ। सुदूरपश्चिम प्रदेशमा भने हालसम्म रोगको पुष्टि भएको छैन।
लम्पी स्किन रोग सबैभन्दा बढी प्रभावित प्रदेश: कोशी प्रभावित भएकाे छ । असार ६ देखि साउनसम्म कोशी प्रदेशका १३ जिल्लामा फैलिएको संक्रमणबाट ३० हजार १५४ संक्रमित छन् भने १ हजार ११६ पशुकाे मृत्यु भएकाे छ ।
मधेश प्रदेशका ८ जिल्लामा ६ हजार १४५ पशु संक्रमित भएका छन् र २४५ पशुको मृत्यु भएको छ। बागमती प्रदेशका ५ जिल्लामा ७ हजार ८२७ पशु संक्रमित छन् भने ४८६ पशुको मृत्यु भइसकेको छ।
त्यस्तै, लुम्बिनी प्रदेशका ८ जिल्लामा ५०१ पशु संक्रमित भएका छन् र १४ पशुको मृत्यु भएको छ। गण्डकी प्रदेशका ५ जिल्लामा ५१३ पशु संक्रमित छन् भने २३ पशुको मृत्यु भएको छ।
कर्णाली प्रदेशमा पनि रोग फैलिएको पुष्टि भए तापनि संक्रमित र मृत्युसम्बन्धी विवरण अझै सार्वजनिक भएको छैन। सुदूरपश्चिम प्रदेशमा हालसम्म रोग नदेखिएको विभागले जनाएको छ।
रोग नियन्त्रणका लागि पशु सेवा विभागले सुदूरपश्चिम बाहेकका ६ प्रदेशमा हालसम्म १० लाख ८५ हजार १३५ पशुमा लम्पी स्किनविरुद्धको खोप लगाइसकेको छ।