भारतले गर्यो माओवादी (नक्सलवादी) विद्रोहबाट मुक्त भएको घोषणा
Prime TV News एक महिना अगाडि 
काठमाडौ । भारत सरकारले देश माओवादी (नक्सलवादी) विद्रोहबाट मुक्त भएको घोषणा गरेको छ। भारतीय गृहमन्त्री अमित शाहले संसद् लोकसभामा बोल्दै ३१ मार्चदेखि भारत नक्सलमुक्त बनेको बताएका हुन्।
उनका अनुसार पछिल्ला दिनहरूमा धेरै माओवादीले आत्मसमर्पण गरेका छन्। उनले ४ हजार ८३९ जनाले आत्मसमर्पण गरेको, २२ सयलाई पक्राउ गरी जेल पठाइएको र ७०६ जनालाई सुरक्षा फौजले कारबाही गरेको जानकारी दिए।
शाहले हतियार छोडेर शान्तिपूर्ण रूपमा आउनेहरूसँग सरकारले वार्ता गर्न सक्ने तर हिंसा जारी राख्नेहरूमाथि कडा कदम चालिने चेतावनी पनि दिएका छन्। उनले केही बुद्धिजीवीहरूले माओवादी हिंसालाई समर्थन गरेको आरोप लगाउँदै गरिबलाई प्रयोग गरेर हिंसा फैलाउने प्रयास भएको बताएका छन्।
साथै, उनले माओवादीहरूले बनाएको ‘रेड करिडोर’ अब समाप्त भएको दाबी गरेका छन्। सरकारको यो घोषणासँगै भारतमा लामो समयदेखि जारी नक्सलवादी समस्या अन्त्य भएको दाबी गरिएको छ।







