नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल आसपास चंगा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गर्ने चेतावनी
Prime TV News ११ महिना अगाडि 
काठमाडौ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आसपास क्षेत्रमा चंगा, ड्रोन, र बेलुन उडाउने गतिविधिहरूलाई रोक्ने निर्णय गरेको छ। पछिल्लो समय विमानस्थलको नजिक यी गतिविधिहरू बढ्न थालेका कारण उड्डयन सुरक्षामा जोखिम उत्पन्न हुन सक्ने आशंका व्यक्त गरिएको छ।
क्यानका महाप्रबन्धक हंसराज पाण्डेले यससम्बन्धी जानकारी दिँदै भने, “विमानस्थलको आसपासमा चंगा, ड्रोन, बेलुन उडाउने र लेजर लाइट चलाउने कार्यले विमानको उडान सुरक्षामा गम्भीर असर पुर्याउन सक्छ। यस प्रकारका गतिविधिहरू नगर्न र नगराउन अनुरोध गर्दछौं। अवज्ञा गर्दा कडा कारबाही हुनेछ।”
नेपाली चाडपर्व, विशेषगरी दशैँ र तिहारको समय नजिकिँदै गर्दा विमानस्थलको आसपासमा चंगा उडाउने परिपाटी बढ्ने गरेको छ, जसले विमानको सुरक्षित उडानमा गम्भीर असर पार्न सक्ने सम्भावना छ।
क्यानले सबैलाई सर्तक रहन र हवाई सुरक्षा सुनिश्चित गर्न सहयोग गर्ने अपिल गरेको छ।







