इरानका राष्ट्रपतिले भने–सर्त पूरा भएमा अमेरिका र इजरायलसँगको युद्ध अन्त्य गर्न तयार
Prime TV News एक महिना अगाडि 
काठमाडौ । इरानका राष्ट्रपति मसुद पेजेस्कियानले निश्चित सर्त पूरा भएमा अमेरिका र इजरायलसँगको युद्ध अन्त्य गर्न तयार रहेको बताएका छन्। उनले भविष्यमा फेरि द्वन्द्व नदोहोरोस् भन्ने ग्यारेन्टी आवश्यक रहेको बताएका हुन्।
इरानको सरकारी सञ्चारमाध्यमका अनुसार उनले युरोपेली परिषद्का अध्यक्षसँग फोनमा कुरा गर्दै यस्तो धारणा राखेका थिए। यसअघि पनि इरानले अमेरिकाको शान्ति प्रस्तावको जवाफ दिँदा आक्रमण नदोहोरोस् भन्ने सुनिश्चितता मागेको थियो।
यसैबीच अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि इरानसँगको युद्ध छिट्टै अन्त्य हुने संकेत दिएका छन्। उनले दुई वा तीन हप्ताभित्र अमेरिका युद्धबाट बाहिरिन सक्ने बताएका छन्। ट्रम्पका अनुसार अमेरिकाको मुख्य लक्ष्य इरानलाई आणविक हतियार बनाउन नदिनु थियो र त्यो लक्ष्य पूरा भइसकेको दाबी गरेका छन्। उनले अब काम अन्तिम चरणमा पुगेको र चाँडै सेना फिर्ता हुने बताएका छन्। साथै, आवश्यक परे सम्झौता हुन सक्ने पनि उनले संकेत दिएका छन्।
गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमा हवाई आक्रमण गरेपछि सुरु भएको द्वन्द्व अझै जारी छ। त्यसको जवाफमा इरानले इजरायल र खाडी क्षेत्रमा रहेका अमेरिकी अड्डामा आक्रमण गरेको थियो। एक महिनाभन्दा बढी समयदेखि जारी यस युद्धमा हालसम्म ४ हजार ५०० भन्दा बढी मानिसको ज्यान गएको बताइएको छ, जसमा धेरैजसो इरानका नागरिक रहेका छन्।







