सहकारी संकट समाधानका लागि सरकार सक्रिय, पीडितसँग मन्त्री रावलको छलफल

User Image Prime TV News एक महिना अगाडि
Image of सहकारी संकट समाधानका लागि सरकार सक्रिय, पीडितसँग मन्त्री रावलको छलफल

काठमाडौ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले सहकारी पीडितसँग प्रत्यक्ष छलफल सुरु गरेकी छन् । सरकारले सय दिनभित्र साना सहकारी बचतकर्ताहरूलाई रकम फिर्ता गराउने लक्ष्यसहित अघि बढिरहेका बेला मन्त्री रावलले पीडितहरूसँग संवाद थालेकी हुन् । 

आज बिहानैदेखि मन्त्रालयमा देशभरका विभिन्न सहकारीका पीडितहरू भेला भई मन्त्री रावलसँग आफ्ना समस्या र गुनासा राखिरहेका छन् । लामो समयदेखि बचत फिर्ता नपाउँदा मारमा परेका सर्वसाधारणले प्रत्यक्ष रूपमा आफ्नो अवस्था सुनाउने अवसर पाएका छन् ।

छलफलका क्रममा मन्त्री रावलले पीडितहरूको समस्या समाधानलाई उच्च प्राथमिकतामा राखिएको बताइन् । 'पीडितहरूको सम्बोधन कसरी प्रभावकारी रूपमा गर्ने भन्ने विषयमा मन्त्रालय गम्भीर छ,' उनले भनिन् । 

सरकारले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न चरणबद्ध रूपमा काम अघि बढाएको र विशेषगरी साना बचतकर्ताहरूलाई राहत दिने योजनामा केन्द्रित रहेको मन्त्री रावलको भनाइ छ । उक्त छलफलले सहकारी पीडितहरूको समस्या समाधानतर्फ ठोस पहल हुने अपेक्षा गरिएको छ ।