डिपी अर्यालले दिए सभामुख पदमा उम्मेदवारी
Prime TV News एक महिना अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डिपी अर्याल सभामुख पदको दौडमा उत्रिएका छन्। उनले आज सभामुख पदका लागि उम्मेदवारी दर्ता गराएका हुन्।
उनको प्रस्तावकमा पार्टी सभापति तथा प्रतिनिधिसभा सदस्य रवि लामिछाने प्रस्तावक छन् भने समर्थकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल छन् ।
२७५ सदस्यीय प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टीका १८२ सांसद रहेकाले अर्याल सभामुखमा निर्वाचित हुने निश्चित छ । सभामुखको निर्वाचन आइतबार हुँदैछ । रास्वपाले यसअघि नै अर्याललाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरिसकेको थियो। बिहीबार बसेको संसदीय दलको बैठकमा पार्टी सभापति रवि लामिछानेले उनको नाम प्रस्ताव गरेका थिए, जसलाई सर्वसम्मत रूपमा स्वीकृत गरिएको थियो।
सभामुख पदका लागि निर्वाचन चैत २२ गते हुने तय गरिएको छ। सोही निर्वाचनमार्फत नयाँ सभामुख चयन हुनेछ। अर्याल काठमाडौं क्षेत्र नम्बर ९ बाट निर्वाचित सांसद हुन्। अब उनी सभामुख पदका लागि प्रतिस्पर्धामा उत्रिँदै आफ्नो राजनीतिक यात्रा नयाँ चरणतर्फ अघि बढाएका छन्।







