रामेछापको भटौली केन्द्रविन्दु भएर ४ म्याग्निच्यूडको भूकम्प


काठमाडौं । रामेछापको भटौलीलाई केन्द्रबिन्दु बनाएर शुक्रबार दिउँसो भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दिउँसो २ बजेर १४ मिनेट जाँदा ४ म्याग्निच्यूडको भूकम्प गएको हो।
भूकम्पको केन्द्रविन्दु रामेछाप जिल्लाको भटौली आसपास रहेको जनाइएको छ। भूकम्पका कारण हालसम्म कुनै ठूलो क्षति वा मानवीय क्षतिको विवरण प्राप्त भएको छैन। तर आसपासका जिल्लामा समेत हल्का धक्का महसुस गरिएको थियो।
यसअघि पनि असोज १ गते पूर्वी रुकुम र बाग्लुङको सीमाक्षेत्र, पातिहाल्ने भञ्ज्याङलाई केन्द्रबिन्दु बनाएर ४.६ म्याग्निच्यूडको भूकम्प गएको थियो। नेपाल भूगर्भीय रूपमा संवेदनशील क्षेत्र भएकाले साना तथा मझौला भूकम्पहरू बारम्बार आइरहेका छन्। विज्ञहरूले यस्ता भूकम्पलाई सतर्कता अपनाउने अवसरका रूपमा लिन आग्रह गर्दै आएका छन्।