जेन-जी आन्दोलनका घटनाबारे गठित आयोगले क्षतिको विवरण संकलन सुरु

User Image Prime TV News १ हप्ता अगाडि
Image of जेन-जी आन्दोलनका घटनाबारे गठित आयोगले क्षतिको विवरण संकलन सुरु

काठमाडौ । भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा भएको जनधनको क्षति सम्बन्धमा छानबिन गर्न गठित आयोगले क्षतिको विवरण संकलन सुरु गरेको छ। पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा गठित त्रि-सदस्यीय आयोगले जलवायु तथा अनुसन्धान विभाग, बबरमहलमा कार्यालय स्थापना गरी बसेको पहिलो बैठकबाटै क्षतिको विवरण माग गर्ने निर्णय गरेको हो।

आयोगले सर्वोच्च अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा अन्य सरकारी कार्यालयहरूमा भएको क्षतिको विवरण गृह मन्त्रालयमार्फत माग गर्ने निर्णय गरेको छ। साथै, निजी क्षेत्र, उद्योग–धन्दा तथा व्यक्तिगत सम्पत्तिमा भएको क्षतिको विवरण भने आयोगको कार्यालयमा स्वयं उपस्थित भई वा इमेलमार्फत पठाउन सकिने व्यवस्था गरिएको छ।

आयोगलाई प्रारम्भिक रूपमा ७ जना कर्मचारी उपलब्ध गराइएको छ। तर छानबिनका लागि गोलीसम्बन्धी विज्ञ, सरकारी वकिल, प्रहरी अधिकारीजस्ता विज्ञहरूको आवश्यकता रहेको भन्दै आयोगले सरकारसँग आवश्यक जनशक्ति माग गर्ने जनाएको छ।

यही असोज ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले पूर्व न्यायाधीश कार्कीको संयोजकत्वमा आयोग गठन गरेको हो। आयोगका अन्य सदस्यहरूमा पूर्व एआइजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी रहेका छन्।

भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा हालसम्म ७४ जनाको मृत्यु भइसकेको पुष्टि भइसकेको छ। धनमालको क्षतिको विवरण संकलन कार्य जारी छ।