नेपाल राष्ट्र बैंकले ४० अर्ब रुपैयाँको निक्षेप संकलन गर्ने
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाल राष्ट्र बैंकले आज ४० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्न लागेको छ। बैंकको मौद्रिक व्यवस्थापन विभागले ५६ दिनको अवधिका लागि यो निक्षेप संकलन गर्ने जनाएको छ।
राष्ट्र बैंकको जारी सूचनाअनुसार, बोलकबोल आजै दिउँसो ३:०० बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयर मार्फत हुनेछ। यसमा 'क', 'ख' र 'ग' वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउने छन्।
सूचनामा उल्लेख भएअनुसार, सहभागीहरूले बोलकबोलमा जम्मा गर्न चाहेको रकम र ब्याजदर उल्लेख गर्नुपर्नेछ। बहु-ब्याजदरमा पनि बोलकबोल गर्न सकिने व्यवस्था गरिएको छ र सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने बैंकलाई पहिलो प्राथमिकतामा राखेर रकम बाँडफाँड गरिने बैंकले जनाएको छ।
यस निक्षेप संकलन उपकरणबाट संकलित रकम बैंक तथा वित्तीय संस्थाहरूले अनिवार्य नगद मौज्दातमा गणना गर्न पाउने छैनन्। तर, यसलाई वैधानिक तरलता अनुपात र तरलता अनुपातमा गणना गर्न सकिने व्यवस्था छ।
राष्ट्र बैंकले भने अनुसार, यो निक्षेपको भुक्तानी अवधि अगावै प्रि-म्याचुअर भुक्तानी हुने छैन। यस्तो निक्षेप संकलन उपकरण बजारमा रहेको अधिक तरलता व्यवस्थापन गर्न समय-समयमा प्रयोग गरिने बताइएको छ।







