गृहमन्त्री सुधन गुरुङले अख्तियार प्रमुखलाई भ्रष्टाचार मुद्दामा तीव्रता दिन गरे आग्रह

User Image Prime TV News एक महिना अगाडि
Image of गृहमन्त्री सुधन गुरुङले अख्तियार प्रमुखलाई भ्रष्टाचार मुद्दामा तीव्रता दिन गरे आग्रह

काठमाडौ । गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसँग भेटेर भ्रष्टाचारका मुद्दामा तीव्रता दिन आग्रह गरेका छन्। गृहमन्त्री गुरुङ तीन दिनअघि एक टोलीसहित राईलाई भेट्न पुगेका थिए र उनले सरकारको तर्फबाट आयोगलाई पूर्ण सहयोग दिने प्रतिबद्धता जनाएका थिए।

गृहमन्त्रीले राईसँगको संवादमा भने, "सरकारको स्पिरिटलाई समाएर काम गर्नुहोस्। तपाईलाई आवश्यक सूचना र जनशक्ति चाहिए हामी तयार छौं। कुनै पनि व्यक्तिलाई नछाड्नुहोस्, फाइल खोल्नुहोस् र भ्रष्टाचारविरुद्धको कार्यमा तीव्रता दिनुहोस्। हामी तपाईसँगै छौं।"

अख्तियार प्रमुख राईले गृहमन्त्रीलाई जानकारी गराउँदै भने कि आफूले निष्पक्ष अनुसन्धान गरिरहेको र पूर्वप्रधानमन्त्री, पूर्व मुख्यसचिवहरूजस्ता ठूला व्यक्तिहरूसम्म मुछिएका भ्रष्टाचारका काण्डहरूको अभियोजन गरिएको छ। राईले गृहमन्त्रीलाई विश्वास दिलाउँदै भने कि उनले आफ्नो कार्यक्षेत्रमा निष्पक्ष र पारदर्शी रूपमा काम गर्न कोसिस गरेका छन्।

गृहमन्त्री गुरुङको समर्थनपछि अख्तियारले केही समयअघि दल र नेताका दबाबका कारण रोकिएका ठूला भ्रष्टाचारका काण्डहरूको अनुसन्धानलाई तीव्रता दिएको छ। स्रोतका अनुसार, "ठूला माछा" मुछिएका काण्डहरूको अनुसन्धान अब तीव्र गति लिईरहेको छ र सरकारको साथसँगै भ्रष्टाचार विरुद्धको कदमलाई मजबुत बनाउन आवश्यक पहल गरिनेछ।