नेपाली क्रिकेटको ऐतिहासिक यात्रा सुरु: वेस्ट इन्डिजविरुद्ध पहिलोपटक भिड्दै

User Image Prime TV News १ हप्ता अगाडि
Image of नेपाली क्रिकेटको ऐतिहासिक यात्रा सुरु: वेस्ट इन्डिजविरुद्ध पहिलोपटक भिड्दै

काठमाडाै । नेपाली क्रिकेट टोली आज क्रिकेट इतिहासमै पहिलोपटक टेष्ट राष्ट्र वेस्ट इन्डिजविरुद्ध टी२० अन्तर्राष्ट्रिय खेल खेल्न मैदान उत्रन लागेको छ।

संयुक्त अरब इमिरेट्स (यूएई) को सारजाह क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार आज राति ८:१५ बजे सुरु हुनेछ।वेस्ट इन्डिज जस्तो विश्वस्तरको टिमविरुद्धको यो श्रृंखला नेपाली क्रिकेटका लागि ऐतिहासिक अवसर हो।

अन्तर्राष्ट्रिय स्तरमा बलियो प्रतिस्पर्धीविरुद्ध खेल्ने अवसरले टोलीको आत्मविश्वास अभिवृद्धि गर्ने विश्वास गरिएको छ। नेपाल र वेस्ट इन्डिजबीच तीन खेलको टी२० अन्तर्राष्ट्रिय श्रृंखला तय गरिएको छ ।

पहिलो खेल आज, दोस्रो खेल सोमबार र तेस्रो तथा अन्तिम खेल मंगलबार तय गरिएको छ । यस श्रृंखलाका सबै खेलहरू यूएईको सारजाह क्रिकेट मैदानमा हुनेछ।

वेस्ट इन्डिजसँगको यो श्रृंखला सकिएपछि नेपाली टोली ओमान प्रस्थान गर्नेछ, जहाँ आगामी साता आईसीसी टी२० एसिया कप क्षेत्रीय छनोट प्रतियोगिता सुरु हुँदैछ।

वेस्ट इन्डिजविरुद्धको श्रृंखलालाई नेपाली टोलीले एशिया कप छनोटको तयारीको अभ्यास अवसरका रूपमा लिएको छ। प्रतिस्पर्धी टिमसँगको अनुभवले ओमानमा उत्कृष्ट प्रदर्शनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

नेपालले पछिल्ला वर्षहरूमा टी२० फर्म्याटमा उल्लेखनीय सुधार गरेको छ। युवा खेलाडीहरूको प्रदर्शन, कप्तानीमा स्थिरता, र रणनीतिक कोचिङका कारण नेपाली टोलीबाट आशा गर्न सकिन्छ कि उनीहरूले वेस्ट इन्डिजविरुद्ध सम्मानजनक प्रदर्शन गर्नेछन्।

नेपाली क्रिकेट समर्थकहरूका लागि आजको खेल मात्र एक प्रतियोगिता होइन, राष्ट्रको क्रिकेट यात्राको अर्को गौरवपूर्ण अध्याय बन्ने विश्वास लिइएको छ ।