आज नवरात्रको पाँचौ दिन : देवी स्कंदमाताको पूजा तथा आराधना गरिँदै


काठमाडाै । पहाडमा बसेर संसारमा रहेका जीवहरुमा नवचेतना प्रदान गर्ने देवीको रुपमा स्कंदमातालाई आष्विन शुक्ल पञ्चमी अर्थात आजकै दिन पूजा तथा आराधना गरिन्छ ।
कमलको फूल आसन भएकी, सेतो वर्ण, स्कन्दकुमारकी आमा भएकीले उनलाई स्कन्दमाता भनिएको हो । यी देवीको काखमा सुपुत्र स्कन्दकुमार आनन्दले रहनुहुन्छ ।
कमल ओछ्याएर बस्ने भएकोले यी देवीलाई पद्मासना देवी पनि भनिन्छ । स्कन्दमाताको सेवा गर्नाले स्वामी कार्तिकेयको पनि उपासना गरे सरह फल प्राप्त हुन्छ ।
यस्तो विशेषता केवल यिनीलाई मात्र प्राप्त छ । सूर्यमण्डलकी अधिष्ठात्री देवी भएको कारण यी देवीको पूजाआजा गर्ने भक्तजन अलौकिक तेज र कान्तिले सुसम्पन्न हुने देवी भागवत पुराणमा उल्लेख गरिएकोछ । स्कन्दमातास्वरूपिणी देवीका चार हातहरू छन् ।
दाहिनेतर्फको माथिल्लो भुजाले भगवान् स्कन्दलाई काखमा सम्हालेकी छिन् तथा तल्लो भुजा जुन मास्तिर उठेको छ, त्यसमा कमल पुष्प सुशोभित छ । देब्रेतर्फको माथिल्लो भुजा वर मुद्रामा तथा तल्लो भुजामा कमल पुष्प सुशोभित छ । सिंह यिनको वाहन हो ।