तलब नदिने पालिकाहरूलाई कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी


काठमाडौं । शिक्षामन्त्री महावीर पुनले शिक्षकहरूको तलब जानाजान रोक्ने स्थानिय पालिकाहरूलाई भोलिसम्मको अल्टिमेटम दिँदै कानुनी कारबाहीको चेतावनी दिएका छन्।
दशैं–तिहारजस्ता ठूला चाडपर्वको अवसरमा कतिपय स्थानिय पालिकाहरूले शिक्षकहरूको तलब समयमा नदिएको गुनासो व्यापक रूपमा आएको भन्दै मन्त्री पुनले सामाजिक सञ्जालमार्फत तीव्र आपत्ति जनाएका हुन्।
उनका अनुसार शिक्षा मन्त्रालयबाट दशैंअघि नै तलब सम्बन्धित स्थानिय पालिकाहरूमा पठाइएको तर, केही पालिकाहरूले शिक्षकहरूलाई तलब नदिएको पाइएकाले सोही आधारमा कारबाही प्रक्रिया अघि बढाइने चेतावनी दिएका छन्।
उनले शिक्षकलाई चाडपर्वमा तलब नदिएर मानसिक तनावमा पार्नु दुखद र गैरजिम्मेवार व्यवहार भएको टिप्पणी गरेका छन् ।