ओलीले फेसबुकमा लेखे: सरकारले मुद्दा चलाउने आधार र प्रमाण फेला नपारेपछि अन्ततः रिहा भए
Prime TV News ४ हप्ता अगाडि 
काठमाडौ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल फेसबुक मार्फत आफूविरुद्ध सरकारले मुद्दा चलाउन आधार र प्रमाण नभेटेको बताएका छन्।
ओलीले भनेका छन्, “सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा मलाई १३ दिन नियन्त्रणमा राख्यो, तर मुद्दा चलाउने आधार नपुगेपछि अन्ततः रिहा भएको छु।” उनले आफ्नो रिहाइका लागि आवाज उठाउने न्यायप्रेमी, कानुन व्यवसायी, न्यायकर्मी, राजनीतिक दल, नेताहरू र सञ्चारकर्मीहरूप्रति आभार व्यक्त गरेका छन्।
साथै, सर्वोच्च अदालतप्रति पनि उच्च सम्मान व्यक्त गरेका छन्। ओली हाल त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा उपचाररत छन्। उनले प्रहरी नियन्त्रणमा रहँदा मानवीय व्यवहार गर्ने प्रहरी, प्रशासन र स्वास्थ्यकर्मीहरूप्रति पनि कृतज्ञता व्यक्त गरेका छन्।
अर्कोतर्फ, उनले आफ्नो रिहाइको मागमा घाइते भएका व्यक्तिहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् र उपचार खर्चमा राज्य उदासीन भए पार्टीले खर्च बेहोर्ने पनि जानकारी दिएका छन्। ओलीले केही दिन अझै अस्पतालमै रहने र सबै शुभचिन्तकहरूमा हार्दिक आभार व्यक्त गरेको समेत उल्लेख गरेका छन्।







