ओलीको माग : गोलीकाण्डको सत्यतथ्य पत्ता लगाउन छानबिन होस


काठमाडाै । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हालै भएको गोलीकाण्ड र त्यसपछि उत्पन्न घटनाक्रमको निष्पक्ष छानबिनको माग गरेका छन्। शनिबार भक्तपुरको गुन्डुमा आयोजित राष्ट्रिय युवा संघ नेपालको कार्यक्रममा बोल्दै उनले घटनाले आफूलाई गहिरो चिन्तित बनाएको र घटनाको वास्तविकता पत्ता लगाउन छुट्टै छानबिन आयोग गठन गर्नुपर्ने बताए।
ओलीले घटनाको विवरण आफैं बुझ्न खोजेको उल्लेख गर्दै भने, “सुरुमा कसरी गोली चल्यो भन्ने म स्वयंले बुझ्ने प्रयास गरें। पछि थाहा पाएँ कि १४ जनाको मृत्यु भइसकेको छ। टाउकोमा गोली लागेको जानकारी आएको छ। यसले मलाई अत्यन्त दुःखी बनायो।”
उनले घटनापछि तत्काल आवश्यक निर्णय लिन नसकिएको महसुस भएपछि राजीनामा दिएको पनि खुलासा गरे। “अर्को दिन थाहा पाएँ, मेरो हातमा केही छैन,” उनले भने।
अध्यक्ष ओलीले आफूमाथि उठेका आरोपहरूप्रति जवाफदेही हुने प्रतिबद्धता जनाउँदै युवा पुस्ताले उठाएको सुशासन र भ्रष्टाचारविरुद्धको आन्दोलनलाई गम्भीरतापूर्वक लिएको बताए। “मैले त्यसको समाधान गर्नतर्फ पाइला चाल्ने प्रयास गरें, तर त्यो दिन त्यो सम्भव भएन,” उनले दुःख व्यक्त गरे।
उनले सामाजिक मर्यादा, शान्ति र कानूनको शासनलाई जोगाउन सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिए। “प्रहरीको हातबाट हतियार खोसेको भए तत्काल फिर्ता गर्नुपर्छ। समाजमा शान्ति कायम गर्न यही जरुरी छ,” ओलीले भने।
अध्यक्ष ओलीले घटनाको निष्पक्ष छानबिनमार्फत सत्यतथ्य सार्वजनिक हुनुपर्ने र दोषीमाथि आवश्यक कानुनी कारबाही हुनुपर्ने धारणा राखे।