जेनजी आन्दोलनपछि एमालेमा बढ्दो असन्तोष, अध्यक्ष ओलीले बोलाए सचिवालय बैठक


काठमाडौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी सचिवालयको आकस्मिक बैठक आह्वान गरेका छन्। बैठक आइतबार दिउँसो १ बजे, अध्यक्ष ओलीको भक्तपुरस्थित गुन्डु निवासमा बस्नेछ।
पछिल्लो समय ‘जेनजी आन्दोलन’ मा भएको युवाहरूको सडक प्रदर्शनले मुलुकको राजनीति तातेको छ। सो आन्दोलनपछि एमाले नेतृत्वमाथि प्रश्न उठ्न थालेको छ, जसको प्रत्यक्ष असर पार्टीभित्र समेत देखिएको छ।
पार्टीभित्रबाटै अध्यक्ष ओलीको नेतृत्वमाथि आलोचना र नेतृत्व परिवर्तनको आवाज चुलिँदै गएको छ। केही नेताहरूले ओलीले पार्टी नेतृत्वबाट एकपटक सोच्नुपर्ने धारणा सार्वजनिक रूपमा राखेका छन्।
यसै सन्दर्भमा बोलाइएको बैठकमा, जेनजी आन्दोलनको प्रभाव, पछिल्लो राजनीतिक परिस्थिति, र त्यसबाट उत्पन्न आन्तरिक असन्तोषबारे गम्भीर समीक्षा गरिने बताइएको छ।