उपसभामुख उम्मेदवारीले राप्रपाभित्र मतभेद बढ्यो
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी भित्र उपसभामुख उम्मेदवारीलाई लिएर विवाद चुलिएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका केही नेताहरूले पार्टीको संस्थागत निर्णयबिना उम्मेदवारी दिइएको भन्दै असन्तुष्टि जनाएका छन्।
महामन्त्री धवलशम्शेर राणाले सामाजिक सञ्जालमार्फत आफू यस निर्णयसँग असहमत रहेको बताएका छन्। उनले राप्रपा गणतन्त्र विरोधी आन्दोलनमा रहेको भन्दै गणतान्त्रिक संरचनाभित्रका पदमा सहभागी हुनु उपयुक्त नहुने धारणा राखेका छन्।
राप्रपाले सांसद सरस्वती लामालाई उपसभामुख पदका लागि उम्मेदवार बनाएको थियो। तर उनलाई आफ्नै पार्टीका सांसदबाहेक अन्य मत प्राप्त भएन। यस घटनापछि पार्टीभित्र थप प्रश्न उठेका छन्। हाल प्रतिनिधि सभामा राप्रपाका ५ जना सांसद रहेका छन्। पछिल्लो निर्वाचनमा पार्टीले प्रत्यक्षतर्फ १ सिट र समानुपातिकतर्फ ४ सिट जितेको थियो।
यसैबीच, पार्टीले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। प्रवक्ता मोहन श्रेष्ठका अनुसार बैठक वैशाख १६ गते बस्नेछ। बैठकमा चुनाव समीक्षा, नयाँ रणनीति र आगामी कार्यक्रमबारे छलफल हुने बताइएको छ। यस विवादले राप्रपाभित्र आन्तरिक मतभेद अझ स्पष्ट देखिएको छ।







