जेनजी आन्दोलनका घाइतेलाई सरकारले वितरण गर्ने परिचय पत्र, विशेष उपचारका लागि क्लिनिक स्थापना हुने


काठमाडौँ । जेनजी आन्दोलनमा घाइते भएका व्यक्तिहरूको पहिचान, वर्गीकरण र उपचार प्रक्रिया सहज बनाउन सरकारले विशेष पहल थालेको छ।
गृहमन्त्रालयका अनुसार आइतबारदेखि घाइतेहरूलाई परिचय पत्र वितरण सुरु गरिनेछ। यस परिचय पत्रले उनीहरूको उपचार, पुनः परीक्षण र सहुलियतमा सहयोग पुर्याउनेछ।
यसबाहेक, सरकार घाइतेहरूको उपचारका लागि काठमाडौँ उपत्यकाभित्र र बाहिर तोकिएका अस्पतालहरूमा ‘जेनजी क्लिनिक’ सञ्चालनमा ल्याउने तयारीमा छ। यी क्लिनिकमार्फत प्राथमिक उपचारदेखि विशेष सेवासम्मको व्यवस्था हुने मन्त्रालयले जनाएको छ।
घाइतेहरूको अवस्था वर्गीकरण गर्न चिकित्सकको संयोजकत्वमा कार्यदल गठन गरिनेछ। उपचारको आवश्यकताअनुसार पुनः परीक्षण गर्नुपर्ने अवस्थालाई ध्यानमा राख्दै, घाइतेहरूलाई एम्बुलेन्स सेवा पनि उपलब्ध गराइने निर्णय गरिएको छ।