नेपाली बजारमा सुन र चाँदीको मूल्य फेरि वढ्यो
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । नेपाली बजारमा सुन र चाँदीको मूल्य फेरि बढेको छ। शुक्रबार बढेको मूल्य आज पनि उकालो लागेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेर २ लाख ९७ हजार १ सय रुपैयाँ पुगेको छ। यसअघि गएको शुक्रबार सुनको भाउ एकैदिन तोलामा २ हजार २ सय रुपैयाँले बढेको थियो। तर बिहीबार भने सुनको मूल्य तोलामा ४ हजार ३ सय रुपैयाँले घटेको थियो।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। चाँदी तोलामा १५ रुपैयाँले बढेर ४ हजार ९७५ रुपैयाँ पुगेको महासंघले जनाएको छ। पछिल्ला दिनमा सुनचाँदीको मूल्यमा लगातार उतारचढाव देखिएको छ। केही समयअघि मात्रै माघ १५ गते एकैदिन सुनको मूल्य तोलामा २० हजार ५०० रुपैयाँले बढेर ३ लाख ३९ हजार ३०० रुपैयाँ पुगेको थियो, जुन हालसम्मकै सबैभन्दा उच्च मूल्य हो।
त्यसपछि माघ १८ गते चाँदीको मूल्यमा ठूलो गिरावट आएको थियो। सो दिन चाँदी तोलामा १ हजार ५६५ रुपैयाँले घटेको थियो। सोही दिन चाँदीको मूल्य ७ हजार ५०५ रुपैयाँसम्म पुगेको थियो, जुन अहिलेसम्मकै उच्च मानिएको हो। लगातारको यस्तो उतारचढावले बजारमा सुनचाँदी किनबेचमा प्रभाव परेको व्यवसायीहरूको भनाइ छ।







