चीनले इरानलाई हतियार पठाउने तयारी गरिरहेको अमेरिकाको दावी
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । अमेरिका–इरानबीचको युद्धविरामपछि पनि तनाव कायमै रहेका बेला चीनले इरानलाई हतियार पठाउने तयारी गरिरहेको दाबी गरिएको छ। सीएनएनको रिपोर्टअनुसार अमेरिकी गुप्तचर निकायले चीनले इरानलाई सैन्य सामग्री आपूर्ति गर्न सक्ने सम्भावनाबारे निगरानी गरिरहेको छ।
रिपोर्टमा चीनले भित्रभित्रै इरानलाई हतियार सहयोग गरिरहेको संकेत भेटिएको पनि उल्लेख छ। यसैबीच हालै अमेरिका र इरानबीच युद्ध रोक्ने युद्धविराममा चीनले भूमिका खेलेको बताइए पनि अब हतियार आपूर्तिको चर्चा आउनु चिन्ताजनक मानिएको छ।
सीएनएनका अनुसार चीनले काँधबाट प्रहार गर्न मिल्ने हवाई प्रतिरक्षा मिसाइल प्रणाली इरानलाई दिन सक्ने आशंका गरिएको छ। यस्ता हतियारले सैन्य विमानका लागि जोखिम बढाउन सक्छन्। यस विषयमा प्रतिक्रिया दिँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले इरानलाई हतियार दिए त्यसको परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन्।
तर चीनको वाशिङ्टनस्थित दूतावासले भने यी आरोप अस्वीकार गरेको छ। चीनले कुनै पनि देशलाई हतियार नदिएको स्पष्ट पारेको छ। विश्लेषकहरूका अनुसार यदि चीनले इरानलाई सैन्य सहयोग गरेको पुष्टि भएमा मध्यपूर्वको अवस्था थप तनावपूर्ण हुन सक्ने र अमेरिका–चीन सम्बन्धमा पनि असर पर्न सक्ने देखिन्छ।







