जेनजी घाइतेलाई एमबीबीएस भर्ना दिने निर्णयप्रति डा. केसीको आपत्ति

User Image Prime TV News ३ हप्ता अगाडि
Image of जेनजी घाइतेलाई एमबीबीएस भर्ना दिने निर्णयप्रति डा. केसीको आपत्ति

काठमाडौ । चिकित्सा सुधारका अभियन्ता गोविन्द केसीले जेनजी आन्दोलनमा घाइतेलाई एमबीबीएस पढ्न छात्रवृत्ति दिने विषयमा शिक्षा मन्त्रालयले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।

उनले प्रेस विज्ञप्ति जारी गर्दै सरकारले गरेको यस्तो निर्णय कानुनविपरीत भएको दाबी गरेका छन्। साथै, शिक्षा मन्त्रालयले चिकित्सा शिक्षा ऐनबारे गलत जानकारी दिएको वा जानाजानी कानुन उल्लङ्घन गर्न खोजेको जस्तो देखिएको बताएका छन्।

केसीका अनुसार जेनजी आन्दोलनमा घाइते भएकी एकता शाहलाई अतिरिक्त छात्रवृत्ति कोटामा एमबीबीएस भर्ना दिने निर्णय चिकित्सा शिक्षा आयोगको आकस्मिक बैठकमार्फत गरिएको थियो, जुन कानुनअनुसार नमिल्ने उनको भनाइ छ।

उनले एमबीबीएस भर्ना प्रवेश परीक्षा, नतिजा र योग्यताक्रमका आधारमा हुने भएकाले यस वर्षको भर्ना प्रक्रिया पहिले नै पूरा भइसकेको अवस्थामा यस्तो निर्णय गर्न नहुने बताएका छन्। केसीले प्रधानमन्त्री बालेन्द्र शाह सहित सम्बन्धित निकायलाई कानुनको पालन गर्न आग्रह गरेका छन्। उनले समस्या समाधान गर्न कानुनी उपाय अपनाउन सकिने सुझाव पनि दिएका छन्।

साथै, उनले शिक्षा मन्त्रालयले दिएको अभिव्यक्ति फिर्ता लिन माग गर्दै माग पूरा नभए आन्दोलन गर्ने चेतावनी दिएका छन्।