भारतीय संगीतकी प्रसिद्ध गायिका आशा भोसलेको निधन
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । भारतीय संगीतकी प्रसिद्ध गायिका आशा भोसले को ९२ वर्षको उमेरमा निधन भएको छ।
केही महिनादेखि अस्वस्थ रहेकी उनलाई शनिबार मुटु र श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो। उपचारका क्रममा उनलाई आईसीयूमा राखिएको थियो।
परिवारका अनुसार उनको निधन आइतबार दिउँसो पुष्टि गरिएको हो। उनको अन्त्येष्टि सोमबार गरिने बताइएको छ। सन् १९३३ मा जन्मिएकी भोसलेले करिब ७ दशक लामो संगीत यात्रामा हजारौँ गीत गाएकी थिइन्। उनी भारतीय मात्र नभई विश्व संगीत क्षेत्रमा समेत अत्यन्तै लोकप्रिय गायिका मानिन्थिन्।
सुरुमा नृत्यप्रधान गीतबाट आफ्नो करियर सुरु गरेकी उनले पछि गजल र अन्य विधाका गीतमा पनि उत्कृष्ट पहिचान बनाएकी थिइन्। ‘उमराव जान’ फिल्मको ‘दिल चीज क्या है’ र ‘इजाजत’को ‘मेरा कुछ सामान’ जस्ता गीत निकै चर्चित छन्।
उनले फिल्मफेयर अवार्ड सात पटक जितेकी थिइन् भने दुई पटक राष्ट्रिय फिल्म पुरस्कार पनि प्राप्त गरेकी थिइन्। आशा भोसलेको निधनसँगै भारतीय संगीत क्षेत्रमा एक युगको अन्त्य भएको प्रतिक्रिया आएको छ।







