शिक्षामन्त्री सस्मित पोखरेलको २४ करोडभन्दा बढी सम्पत्ति विवरण सार्वजनिक
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । सस्मित पोखरेलको सम्पत्ति विवरण सार्वजनिक भएको छ। आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रीहरूको सम्पत्ति सार्वजनिक गर्दा उनको विवरण पनि बाहिर आएको हो।
सार्वजनिक विवरण अनुसार पोखरेलसँग कुल २४ करोड १६ लाख रुपैयाँ बराबरको सम्पत्ति रहेको छ। उनको नाममा काठमाडौंमा करिब ४ करोड रुपैयाँको घर रहेको छ। साथै, मूलपानीमा ५ करोड रुपैयाँ बराबरको जग्गा र मोरङमा १ करोड रुपैयाँको जग्गा रहेको उल्लेख गरिएको छ।
पारिवारिक सम्पत्तिमा उनका बुवा र आमाको नाममा पनि करोडौं मूल्यका जग्गा छन्। गोदावरी क्षेत्रमा मात्रै परिवारको नाममा करिब ५ करोड रुपैयाँ बराबरको जग्गा रहेको छ।
मन्त्री पोखरेलसँग २५ तोला सुन र १०० तोला चाँदी रहेको छ, जसको मूल्य करिब ७५ लाख रुपैयाँ रहेको जनाइएको छ। नगद भने २५ हजार रुपैयाँ मात्रै रहेको छ।
बैंक खातामा सानिमा बैंक र एनआईसी एसिया बैंकमा गरी करिब ४ लाख ४८ हजार रुपैयाँ जम्मा रहेको छ। साथै, विभिन्न कम्पनीमा परिवारको नाममा १ करोड ७७ लाख रुपैयाँ बराबरको शेयर लगानी पनि रहेको छ।
सवारी साधनतर्फ, बुवाको नाममा करिब ७० लाख रुपैयाँको एउटा ईभी कार र उनको आफ्नै नाममा करिब ४० लाख रुपैयाँको अर्को कार रहेको छ। यस्तै, उनले ७५ लाख रुपैयाँ ऋण रहेको पनि विवरणमा उल्लेख गरेका छन्।
सम्पूर्ण सम्पत्ति र दायित्व जोड्दा मन्त्री पोखरेलको कुल सम्पत्ति २४ करोड १६ लाख रुपैयाँ पुगेको देखिएको छ।







