वैशाखका लागि बैंकहरूको ब्याजदर घट्यो
Prime TV News ३ हप्ता अगाडि काठमाडौ । वाणिज्य बैंकहरूले वैशाख महिनाका लागि निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले सार्वजनिक गरेको नयाँ दर अनुसार चैत महिनाको तुलनामा औसत ब्याजदर घटेको छ।
चैतमा व्यक्तिगत निक्षेपको औसत ब्याजदर ४.४९ प्रतिशत रहेकोमा वैशाखमा घटेर ४.४० प्रतिशतमा झरेको छ। त्यस्तै, संस्थागत निक्षेपको ब्याजदर पनि ३.२९ प्रतिशतबाट घटेर ३.२३ प्रतिशतमा पुगेको छ।
केही बैंकहरूले ब्याजदर घटाएका छन् भने केहीले यथावत् राखेका छन्। सिटिजन्स बैंक इन्टरनेशनल र एभरेस्ट बैंकले व्यक्तिगत निक्षेपको ब्याजदर घटाएका छन्। हिमालयन बैंकले व्यक्तिगत र संस्थागत दुवै निक्षेपमा ब्याजदर घटाएको छ।
त्यस्तै नबिल बैंक, एनआईसी एशिया बैंक र राष्ट्रिय वाणिज्य बैंकले पनि व्यक्तिगत निक्षेपको ब्याजदर घटाएका छन्। सिद्धार्थ बैंकले दुवै प्रकारका निक्षेपमा ब्याजदर घटाएको छ। तर ग्लोबल आइएमई बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक, नेपाल बैंक लगायतका केही बैंकहरूले भने ब्याजदर यथावत् राखेका छन्।
नयाँ दर अनुसार विभिन्न बैंकहरूले व्यक्तिगत निक्षेपमा करिब ४ देखि ५ प्रतिशतसम्म ब्याजदर कायम गरेका छन्। यससँगै वैशाख महिनामा बैंकिङ क्षेत्रमा ब्याजदर घट्ने प्रवृत्ति देखिएको छ।







