युएईमा ऐतिहासिक जित : नेपालले वेस्ट इन्डिजलाई १९ रनले पराजित गर्दै टेस्ट राष्ट्रमाथि पहिलो जित

User Image Prime TV News ११ महिना अगाडि
Image of युएईमा ऐतिहासिक जित : नेपालले वेस्ट इन्डिजलाई १९ रनले पराजित गर्दै टेस्ट राष्ट्रमाथि पहिलो जित

काठमाडाै । युनिटी कप टी२० अन्तर्राष्ट्रिय श्रृंखलाको पहिलो खेलमा नेपालले बलियो प्रतिद्वन्द्वी वेस्ट इन्डिजलाई १९ रनले पराजित गर्दै ऐतिहासिक जित दर्ता गरेको छ। यो नेपालले टेस्ट राष्ट्रविरुद्ध हासिल गरेको पहिलो जित हो, जसले नेपाली क्रिकेटको इतिहासमा नयाँ अध्याय थपेको छ।

शारजाह क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४८ रन बनायो। कप्तान रोहित पौडेलले सर्वाधिक ३८ रन बनाए। त्यस्तै, कुशल मल्लले ३०, गुल्सन झाले २२, र दीपेन्द्रसिंह ऐरीले १७ रनको योगदान दिए।

वेस्ट इन्डिजका लागि अनुभवी बलर जेसन होल्डरले ४ विकेट लिएर नेपालको स्कोर सीमित गर्न मद्दत गरे। १४९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजको सुरुवात कमजोर रह्यो।

निर्धारित २० ओभरमा उनीहरूले ९ विकेट गुमाउँदै १२९ रन मात्र बनाउन सके। वेस्ट इन्डिजका नविन बिडाइसले २२ रन बनाएर सर्वाधिक रन बनाएका थिए।

नेपालका बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दै विपक्षी ब्याटिङ लाइनअपलाई दबाबमा राखे। कुशल भुर्तेलले २ विकेट, भने रोहित पौडेल, ललित राजवंशी, करण केसी, नन्दन यादव र दीपेन्द्रसिंह ऐरीले समान १-१ विकेट लिए।

यो जितले नेपाललाई तीन खेलको टी२०आई श्रृंखलामा १० को अग्रता दिलाएको छ। दोस्रो खेल आगामी सोमबार खेलिनेछ।