नयाँ सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक, ५ वर्षमा रोजगारी र आर्थिक सुधारमा जोड

User Image Prime TV News ३ हप्ता अगाडि
Image of नयाँ सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक, ५ वर्षमा रोजगारी र आर्थिक सुधारमा जोड

काठमाडौ । बालेन्द्र शाह नेतृत्वको नयाँ सरकारले ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक गरेको छ। यसमा विभिन्न राजनीतिक दलका घोषणापत्र र प्रतिबद्धतालाई समेटेर साझा योजना बनाइएको छ।

यो दस्ताबेज ‘जेन–जी’ आन्दोलनपछि बनेको राजनीतिक परिवेश र हालैको निर्वाचनपछि तयार गरिएको हो। सरकारले यसलाई आगामी वर्षको नीति, कार्यक्रम र बजेटमार्फत लागू गर्ने जनाएको छ। यसको अनुगमन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गर्नेछ।

सरकारले आगामी पाँच वर्षभित्र ७ प्रतिशत आर्थिक वृद्धि गर्ने लक्ष्य राखेको छ। साथै, १५ लाख रोजगारी सिर्जना गर्ने र प्रतिव्यक्ति आय ३ हजार डलर पुर्‍याउने योजना छ।

कृषि क्षेत्रमा किसानलाई सहयोग गर्न क्रेडिट कार्ड र पेन्सन दिने योजना ल्याइएको छ। पर्यटनमा ‘सफा हिमालः सुरक्षित आरोहण’ अभियान चलाइनेछ भने ऊर्जा क्षेत्रमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ।

सुशासनका लागि सरकारी सेवामा दलीय प्रभाव हटाउने, सम्पत्ति छानबिन गर्ने र योग्यताका आधारमा नियुक्ति गर्ने नीति पनि समेटिएको छ।

त्यसैगरी, शिक्षा र स्वास्थ्य सेवा निःशुल्क र गुणस्तरीय बनाउने, सूचना प्रविधिलाई प्राथमिकता दिने र सहकारी पीडितलाई न्याय दिलाउने योजना पनि सरकारले अघि सारेको छ।

सरकारले यस प्रतिवद्धतापत्रलाई देश विकासको साझा मार्गचित्रका रूपमा अघि बढाउने जनाएको छ।