आजदेखि देशभर आर्थिक गणना सुरु, असारभित्र सक्ने लक्ष्य

User Image Prime TV News ३ हप्ता अगाडि
Image of आजदेखि देशभर आर्थिक गणना सुरु, असारभित्र सक्ने लक्ष्य

काठमाडौ । आज देखि देशभर दोस्रो आर्थिक गणना सुरु भएको छ। राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार गणक र सुपरीवेक्षकहरू आ–आफ्नो क्षेत्रमा पुगेर तथ्यांक संकलन सुरु गरिसकेका छन्।

यो गणना असारको पहिलो साताभित्र सक्ने लक्ष्य राखिएको छ। यसका लागि करिब पाँच हजार जनशक्ति परिचालन गरिएको छ। अर्थ मन्त्रालयले देशको आर्थिक अवस्था बुझ्न यो गणना महत्वपूर्ण भएकाले सबैलाई सहयोग गर्न आग्रह गरेको छ।

यस गणनामा उद्योग, व्यापार, सेवा, सहकारी, निजी तथा सरकारी संस्थासम्बन्धी जानकारी संकलन गरिनेछ। साथै, लगानी, रोजगारी, उत्पादन र सेवा प्रवाह जस्ता विषय पनि समेटिनेछन्।

देशभर दर्ता भएका वा नभएका साना–ठूला व्यवसाय, उद्योग, विद्यालय, अस्पताल र संघसंस्थाको विवरण पनि लिइनेछ ।  यसअघि २०७५ सालमा गरिएको आर्थिक गणनामा देशभर ९ लाखभन्दा बढी व्यवसाय सञ्चालनमा रहेको तथ्य सार्वजनिक भएको थियो।

अहिलेको गणनाले नयाँ र यथार्थ अवस्था देखाउने अपेक्षा गरिएको छ।