कूटनीतिक शब्द प्रयोगमा सचेत हुनुपर्ने ज्ञवालीको भनाइ

User Image Prime TV News ३ हप्ता अगाडि
Image of कूटनीतिक शब्द प्रयोगमा सचेत हुनुपर्ने ज्ञवालीको भनाइ

काठमाडौ । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले सरकारी दस्ताबेजमा प्रयोग हुने भाषाप्रति सावधानी अपनाउनुपर्ने बताएका छन्। सरकारले ल्याएको ‘राष्ट्रिय प्रतिबद्धता’ दस्ताबेजमा प्रयोग भएका केही शब्दप्रति उनले आपत्ति जनाएका हुन्।

पूर्व परराष्ट्रमन्त्री समेत रहेका ज्ञवालीले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै नेपाललाई ‘बफर स्टेट’ भनेर चित्रण गर्नु उपयुक्त नभएको बताएका छन्। उनका अनुसार नेपालले कहिल्यै आफूलाई ‘बफर राज्य’ भनेको छैन र छिमेकी देशहरूले पनि यस्तो शब्द प्रयोग गरेका छैनन्।

उनले नेपालका छिमेकी राष्ट्रहरूबीच गम्भीर द्वन्द्व नभएको अवस्थामा ‘बफर स्टेट’ जस्तो शब्द प्रयोग गर्नु सान्दर्भिक नहुने बताए। उनले राष्ट्रिय हित, स्वतन्त्र परराष्ट्र नीति र सन्तुलित सम्बन्धलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।

सरकारले ‘अन्तर्राष्ट्रिय कूटनीति र परराष्ट्र सम्बन्ध’ अन्तर्गत नेपाललाई ‘बफर स्टेट’बाट ‘भाइब्रेन्ट ब्रिज’ मा रूपान्तरण गर्ने र सबैसँग ‘समदूरी’ तथा ‘समनिकटता’ को नीति अपनाउने उल्लेख गरेको छ। यस विषयमा ज्ञवालीले कूटनीतिमा प्रयोग हुने हरेक शब्दको विशेष अर्थ हुने भन्दै यस्ता शब्द चयन गर्दा अझ सावधानी आवश्यक हुने बताए।

उनले ‘समदूरी’ र ‘समनिकटता’ जस्ता शब्दहरू पनि सन्दर्भअनुसार फरक अर्थ दिने भएकाले स्पष्ट रूपमा प्रयोग गर्नुपर्ने धारणा राखेका छन्। उनको भनाइ अनुसार, अस्पष्ट वा गलत सन्देश दिने शब्द प्रयोग गर्दा नेपालको परराष्ट्र नीतिमा भ्रम उत्पन्न हुन सक्ने खतरा रहन्छ।