मध्यपूर्वमा बढ्दो तनावका बीच इजराइल र लेवनान बीच अमेरिकामा दुर्लभ वार्ता
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । मध्यपूर्वमा बढ्दो तनावका बीच इजराइल र लेवनान बीच अमेरिकामा दुर्लभ वार्ता भएको छ। अमेरिकाको मध्यस्थतामा बासिङ्टन डिसीमा भएको बार्तामा दुवै देशका प्रतिनिधिबीच प्रारम्भिक छलफल भएको हो। करिब दुई घण्टा चलेको वार्तामा दुवै पक्षले सकारात्मक प्रतिक्रिया दिएका छन्।
वार्ता अमेरिकाका विदेशमन्त्री मार्को रूबिओको पहलमा भएको बताइएको छ। सहभागीहरूले यो बैठकलाई औपचारिक वार्ताको सुरुआततर्फको महत्वपूर्ण कदमका रूपमा लिएका छन्। सन् १९४८ मा इजरायल स्थापना भएयता द्वन्द्वको अवस्थामा रहेका यी दुई देशबीच यस प्रकारको प्रत्यक्ष संवाद दुर्लभ मानिन्छ। यसपटकको छलफल पूर्ण औपचारिक नभए पनि भविष्यमा हुने वार्ताका लागि आधार तयार गर्ने उद्देश्य राखिएको थियो।
वार्तामा एकअर्काको अडान बुझ्ने, तनाव कम गर्ने र सम्भावित युद्धविरामका उपायबारे छलफल भएको बताइएको छ। दुवै पक्षले आगामी दिनमा औपचारिक वार्ता अघि बढाउने सहमति जनाएका छन्। क्षेत्रीय तनावका कारण विशेषगरी हिजबुल्लाहको भूमिकालाई लिएर अवस्था जटिल बनेको छ। यसैबीच लेबननमा ठूलो मानवीय क्षति भएको र लाखौं मानिस विस्थापित भएको जनाइएको छ। यद्यपि यो वार्ता प्रारम्भिक चरणमै रहे पनि शान्ति प्रक्रियातर्फको सकारात्मक संकेतका रूपमा हेरिएको छ।







