जनअपेक्षा पूरा गर्न नसक्दा वामपन्थी पराजय भएको खनालको विश्लेषण

User Image Prime TV News ३ हप्ता अगाडि
Image of जनअपेक्षा पूरा गर्न नसक्दा वामपन्थी पराजय भएको खनालको विश्लेषण

काठमाडौ । नेकपाका नेता झलनाथ खनालले हालैको निर्वाचनमा वामपन्थी शक्तिको पराजयबारे गम्भीर समीक्षा प्रस्तुत गरेका छन्। पार्टीको जारी बैठकमा निर्वाचन समीक्षा सम्बन्धी दस्तावेज पेश गर्दै खनालले जनताले वामपन्थी शक्तिसँग राखेको ठूलो अपेक्षा पूरा हुन नसक्नु नै पराजयको मुख्य कारण भएको बताएका छन्।

उनका अनुसार २०७४ सालको निर्वाचनपछि बनेको करिब दुईतिहाइ बहुमतको वामपन्थी सरकारसँग जनताले गाँस, बाँस, कपास, शिक्षा, स्वास्थ्य, रोजगारी र सुरक्षाजस्ता आधारभूत आवश्यकतामा ठूलो आशा राखेका थिए। तर ती अपेक्षा पूरा हुन नसक्दा जनमत परिवर्तन भएको उनको निष्कर्ष छ।

खनालले जनआन्दोलन र सशस्त्र संघर्षका क्रममा पीडित भएका जनताको अपेक्षा उच्च भए पनि व्यवहारमा ठोस परिणाम नआएको उल्लेख गरेका छन्। उनले वामपन्थी शक्तिको पछिल्लो निर्वाचनमा कमजोर प्रदर्शनका पछाडि आन्तरिक तथा बाह्य कारणहरूको पनि गहिरो अध्ययन आवश्यक रहेको बताएका छन्।

दस्तावेजमा उनले भदौ २३ र २४ को जेन–जी आन्दोलन, देशी–विदेशी शक्तिको प्रभाव र प्रविधिको प्रयोगले समेत निर्वाचन परिणाममा असर पारेको उल्लेख गरेका छन्। खनालका अनुसार आठ वर्षको छोटो अवधिमा ठूलो जनमत परिवर्तन हुनुका कारणहरूको तथ्यमा आधारित विश्लेषण गर्नुपर्ने आवश्यकता छ। उनले पार्टी र कम्युनिष्ट आन्दोलनले आत्मसमीक्षा गरेर मात्र अघि बढ्नुपर्ने सुझाव दिएका छन्।