बुढानीलकण्ठ नगर अस्पतालले विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्ने
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । बुढानीलकण्ठ नगर अस्पतालले आगामी बर्षमा विशेषज्ञ सेवा सहितको स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने तयारी गरेको छ ।
अस्पतालको दोश्रो बार्षिकोत्सव समारोहमा आयोजित कार्यक्रममा हाल सञ्चालनमा रहेका स्वास्थ्य सेवालाई अझै गुणस्तरीय र विश्सनीय बनाउँदै लगिने बताइएको हो । कार्यक्रममा बागमति प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले नगर अस्पतालले आफ्नो साधन र श्रोतको व्यवस्थापनसँगै विशेषज्ञ सेवालाई विस्तार गर्न सक्ने बताए ।
उनले वागमति प्रदेशका स्थानीय आधारभूत अस्पताललाई व्यवस्थित रुपमा सञ्चालन गर्नका निम्ति प्रदेश सरकारले विशेष ध्यान दिने बताए । कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले नगरवासीको स्वास्थ्य सेवामा पहुँच बृद्धि गर्ने उद्देश्यले सुरु गरिएको अस्पतालले दुई बर्षको अवधिमा नै उल्लेखनीय प्रगति गरेको बताए ।
उनले नगर अस्पतालको सेवालाई गुणस्तरीय र विश्वसनीय बनाउनका निम्ति अस्पतालमा कार्यरत चिकित्सक तथा कर्मचारीहरुको कार्यप्रति सेवाग्राही आफैले मूल्याङ्कन गर्न आग्रह गरे । उनले भने, ‘तपाईहरुले यस अस्पतालबाट पाइरहनुभएको सेवाप्रति कुनै गुनासो छ भने सोझै नगरप्रमुखसँग भन्नुहोस् । हामी त्यसलाई सम्बोधन गर्नेछौं ।’
सोही कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाकी उपप्रमुख अनिता लामाले अस्पतालमा कार्यरत चिकित्सक र कर्मचारीहरुको निःस्वार्थ सेवा भावनाका कारण नै नगरअस्पतालले उल्लेखनीय प्रगति गरेको बताइन् । उनले अस्पताललाई स्वायत्त ढंगले सञ्चालन हुन दिनुपर्ने मान्यता स्थपित गर्न नगरपालिकाले अभिभावकीय भूमिका खेलेको बताइन् । उनले भनिन्, ‘हामीले अस्पतालमा कर्मचारी छनौट गर्दा हाम्रालाई भन्दा राम्रालाई प्राथमिकता दियौं । जसका कारणले अहिले अस्पतालमा सक्षम जनशक्तिले विश्वसनीय सेवा दिइरहनुभएको छ ।’
नगर अस्पताल स्थापनाको पहिलो बर्ष १ हजार ८०७ जनालाई सेवा उपलब्ध गराइएकोमा यस बर्ष ३८ हजार २१६ जना सेवाग्राहीलाई स्वास्थ्य सेवा प्रदान गरेको बताइएको छ । अस्पतालले हाल क्यूरेटिभ र क्लिनिकल सेवा अन्तर्गत १४ वटा र पब्लिक हेल्थ निःशुल्क सेवा अन्तर्गत १० वटा सेवालाई प्रदान गरिरहेको जनाएको छ ।







