उद्योगी-व्यवसायीलाई २१ दिनको बक्यौता तिर्न अल्टिमेटम


काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइनमार्फत विद्युत् आपूर्ति लिने औद्योगिक तथा व्यापारिक ग्राहकहरूलाई विद्युत महसुल बक्यौता तिर्न २१ दिनको अन्तिम चेतावनी (अल्टिमेटम) दिएको छ।
प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयले एक सूचना जारी गर्दै, बक्यौता रकम तुरुन्त बुझाउन आग्रह गरेको हो। साथै, भुक्तानीमा सहजता ल्याउन इच्छुक ग्राहकहरूलाई बढीमा २८ महिनासम्म किस्ताबन्दी सुविधा उपलब्ध गराइने उल्लेख गरिएको छ।
उर्जा मन्त्रालयको जिम्मेवारी सम्हालेपछि मन्त्री कुलमान घिसिङले डेडिकेटेड र ट्रंकलाइन ग्राहकबाट बक्यौता असुलीलाई प्राथमिकता दिने घोषणा गरेका थिए। उनले यसअघि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकका रूपमा कार्य गर्दा पनि उद्योगी तथा व्यवसायीहरूसँगको बक्यौता उठाउन विशेष पहल गरेका थिए ।