इरान युद्ध रोक्ने प्रस्ताव फेरि खारेज, अमेरिकी सिनेट विभाजित

User Image Prime TV News ३ हप्ता अगाडि
Image of इरान युद्ध रोक्ने प्रस्ताव फेरि खारेज, अमेरिकी सिनेट विभाजित

काठमाडौ । अमेरिकी सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको इरानविरुद्ध सैन्य कारबाही रोक्ने प्रस्ताव फेरि असफल भएको छ। चौथोपटक मतदान हुँदा पनि प्रस्ताव पारित हुन सकेन।

मतदानमा प्रस्तावको विपक्षमा ५२ र पक्षमा ४७ मत परेको छ। रिपब्लिकन पार्टीको बहुमत भएकाले प्रस्ताव पारित हुन सकेन । यो प्रस्ताव पास भएको भए संसदको अनुमति बिना इरानमाथि सैन्य कारबाही गर्न पाइने थिएन। तर प्रस्ताव असफल भएसँगै ट्रम्पलाई तत्काल कुनै कानुनी रोक लागेन।

डेमोक्र्याटहरूले भने यस्तो प्रस्ताव ल्याउने क्रम जारी राख्ने बताएका छन्। उनीहरूका अनुसार यसले सांसदहरूको धारणा जनतामाझ स्पष्ट पार्ने काम गर्छ। केही रिपब्लिकन सांसदहरूले भने युद्ध लामो समयसम्म चले आफ्नो धारणा बदल्न सक्ने संकेत दिएका छन्।

राष्ट्रपति ट्रम्पले भने युद्ध अन्त्यतिर पुगेको दाबी गरेका छन्। तर पश्चिम एसियामा तनाव अझै कायमै छ। अमेरिकी कानुन अनुसार ६० दिनभन्दा बढी सैन्य कारबाही गर्न संसदको अनुमति चाहिन्छ। अहिले भने इरानमाथि गरिएको नाकाबन्दीलाई धेरैजसो रिपब्लिकन सांसदहरूले समर्थन गरिरहेका छन्।