वाम एकताको नाममा स्वार्थको खेल नगर्न पाण्डेको चेतावनी
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले विचार र स्पष्ट लक्ष्यविनाको वाम एकता गर्नु पार्टीका लागि घातक हुने बताएका छन्।
सामाजिक सञ्जालमा धारिलो टिप्पणी गर्दै उनले पार्टीभित्रै केही नेताहरू फेरि वाम एकताको बहानामा सक्रिय भएकोप्रति असन्तुष्टि जनाएका हुन्। उनले यस्तो गतिविधि नेतृत्व संकट वा व्यक्तिगत स्वार्थबाट प्रेरित भएको संकेत गरेका छन्।
पाण्डेले विगतको अनुभव सम्झाउँदै विचार र सिद्धान्तविनाको एकताले राम्रो परिणाम नदिएको स्पष्ट पारे। “हिजो पदका लागि एकता गरियो, आज अस्तित्व जोगाउन खोजिँदैछ,” भन्ने उनको कडा टिप्पणीले पार्टीभित्रको बहसलाई अझ तीव्र बनाएको छ।
उनका अनुसार एमाले आफैंमा बलियो इतिहास बोकेको पार्टी भएकाले छोटो राजनीतिक फाइदाका लागि हतारमा एकता गर्नु गलत हुन्छ। उनले पार्टीको भविष्य सुरक्षित राख्न दीर्घकालीन सोच आवश्यक रहेको बताए।
पाण्डेले अहिलेको मुख्य काम भनेको पार्टीलाई पुनः बलियो बनाउनु, सक्षम नेतृत्व तयार गर्नु र युवाहरूलाई आकर्षित गर्नु भएको उल्लेख गरे। यसो नगरे पार्टी झन् कमजोर हुँदै जाने उनको चेतावनी छ।
अन्त्यमा उनले अब एमालेले सत्ता र स्वार्थको हिसाबकिताब छोडेर विधि, सुशासन र परिणाम दिने नेतृत्वतर्फ अघि बढ्नु पर्नेमा जोड दिएका छन् ।







