प्रधानमन्त्री र मुख्यमन्त्रीबीच पहिलो बैठक आज
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । वालेन्द्र शाहले पदभार सम्हालेपछि पहिलोपटक सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग आज बैठक बस्ने भएका छन्। बैठक दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।
बैठकमा देशभरका विकास निर्माणका कामलाई कसरी छिटो अगाडि बढाउने भन्ने विषयमा छलफल हुने बताइएको छ। साथै, केन्द्र र प्रदेशबीच स्रोत–साधनको उचित बाँडफाँड कसरी गर्ने भन्ने विषय पनि मुख्य एजेन्डामा रहनेछ।
प्रदेश सरकारले भोगिरहेका प्रशासनिक र आर्थिक समस्याहरू समाधान गर्ने विषयमा पनि कुरा हुने जनाइएको छ। केन्द्र र प्रदेशबीच सहकार्य अझ बलियो बनाउने उपायबारे समेत छलफल गरिनेछ। त्यस्तै, देशको वर्तमान आर्थिक अवस्था, पूर्वाधार विकास, सेवा प्रवाह सुधार र सुशासन कायम गर्ने विषयमा साझा समझदारी बनाउने प्रयास हुनेछ।
यो बैठकलाई संघीयता कार्यान्वयनलाई प्रभावकारी बनाउने र जनतालाई प्रत्यक्ष लाभ पुर्याउने दिशामा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।







