लेखा समितिको सभापतिमा कांग्रेसको उम्मेदवारी दिने
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । नेपाली कांग्रेसले प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको सभापतिमा उम्मेदवारी दिने भएको छ।
कांग्रेस सांसद भिष्मराज आङदाम्बेले लेखा समितिमा आफ्नो दलको उम्मेदवारी रहने बताएका छन्। उनले अन्य समितिका विषयमा भने विपक्षी दलसँग छलफल भइरहेको जानकारी दिएका छन्। यसैबीच संसदीय समितिका सभापति चयनबारे विपक्षी दलहरूबीच पनि छलफल भइरहेको छ।
आज दिउँसो १२ बजे सिंहदरबारमा विपक्षी दलका नेताहरूको बैठक बस्नेछ। बैठकमा कुन समितिमा कसले उम्मेदवारी दिने भन्नेबारे निर्णय गर्ने तयारी छ। कांग्रेसका मोहन आचार्य र भिष्मराज आङदाम्बे अन्य दलसँग समन्वयमा छन्। त्यस्तै नेकपाका नेता वर्षमान पुन र युवराज दुलाल पनि छलफलमा सहभागी छन्।
संसदीय सचिवालयका अनुसार आज दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ता हुने छ। दर्ता सिंहदरबारस्थित प्रतिनिधिसभा सचिवको कार्यालयमा हुनेछ। साँझ साढे ४ बजे उम्मेदवारको सूची सार्वजनिक गरिनेछ।
संघीय संसद्मा १६ वटा संसदीय समिति छन्। तीमध्ये प्रतिनिधिसभामा १०, राष्ट्रिय सभामा ४ र २ वटा संयुक्त समिति रहेका छन्। राष्ट्रिय सभाका समितिका सभापति चयन भइसकेका छन् भने प्रतिनिधिसभा र संयुक्त समितिका सभापति चयन बाँकी छन्।







